काठमाडौँ, १६ मंसिर– चुरे भावर राष्ट्रिय एकता पार्टीले आफ्ना युवा कार्यकर्ताहरुलाई लडाकु तालिम दिएको छ । चुरे भावरले ‘शान्ति सेना’ नामक लडाकु दस्ता बनाएको छ । केही बर्ष निष्कृय रहेको उक्त लडाकु दस्ता मधेसी मोर्चाको आन्दोलन दबाउन भन्दै पुनः व्यूँताइएको हो ।

चुरे भावरले दुई सय बढी युवा कार्यकर्ताहरुलाई जम्मा गरेर जंगलमा गोप्य प्रशिक्षण दिएको छ । तीन दिनसम्म चलेको प्रशिक्षणमा युवाहरुलाई मुख्य गरी लाठी चलाउने तालिम दिइएको थियो ।

आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका दीपमान लोप्चनलगायतले आक्रमण र आत्मरक्षाको तालिम दिएका थिए ।

चुरे भावर राष्ट्रिय एकता पार्टीका वद्रि न्यौपानेले भने, ‘बर्षौंदेखि मिलेर बसेका पहाडी र मधेसी समुदायबीच फाटो ल्याएको छ । राष्ट्रिय अखण्डता र सामाजिक सदभाव विथोलिने गतिविधि हामीलाई सैह्य छैन ।’

सर्लाहीको नवलपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार जनसभा आयोजना गर्दैछ । चुरे भावरले भने सभालाई विथोल्ने चेतावनी दिएको छ ।

मधेसी मोर्चा र चुरे भावरबीच झडपको आशंकाले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि मधेसी मोर्चाले सर्लाही जिल्लामा पूर्वपश्चिम राजमार्ग अवरोध गर्न खोज्दा चुरे भावरका कार्यकर्ताले लखेटेका थिए । -

Post a Comment

 
Top