काठमाडौं — भारतीय राजदूत रञ्जित रे र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच शुक्रबार साँझ भारतीय दूतावासमा छलफल भएको छ । तर, त्यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र राजदूत रेबीच पनि दूतावासमा गोप्य छलफल भएको छ ।Kamal-Thapa1-300x300
दूतावास स्रोतका अनुसार आज दिउँसो मन्त्री थापा दूतावास पुगेर राजदूत रेसँग छलफल गरेका हुन् । आजको भेटमा थापाले रेलाई आफ्नो भारत भ्रमणका क्रममा विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भएको भेटवार्ताको बारेमा जानकारी गराएका थिए । थापाले रेसँग भारतीय सत्तापक्ष नेपाल सरकारले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि प्रस्तुत गरेको विकल्पप्रति सकारात्मक रहेको जानकारी दिएको स्रोतले बतायो । मन्त्री थापाले मोर्चाका नेताहरुले आफूले भनेको नमान्ने बताउँदै भारतको सकारात्मक सन्देश मोर्चाका नेताहरुलाई बुझाइदिन राजदूत रेसँग आग्रह गरेका थिए ।
मन्त्री थापासँगको भेटपछि राजदूत रेले मधेसी मार्चाका नेताहरुलाई दूतावासमा बोलाएका थिए । स्रोतका अनुसार आज दूतावास पुग्नेमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका लक्ष्मणलाल कर्ण र तमसपाका रामनरेश राय रहेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने आफू अर्कै काममा व्यस्त रहेको बताउँदै आवश्यक परे आउने टेलिफोनमार्फत जानकारी दिएका थिए

आजको भेटमा राजदूत रेले मधेसी मोर्चाका नेताहरुलाई थापासँग भएको कुराकानीको जानकारी दिएका थिए । त्यस्तै रेले मधेसमा जारी आन्दोलनका कारण भारत सरकारको नेपालमा मात्र नभएर भारतमै विरोध शुरु भएको कुरा मोर्चाका नेताहरुलाई बताएका थिए । स्रोतका अनुसार राजदूत रेले मधेसी जनताको माग सम्बोधन गराउन सहयोगी भूमिका खेले पनि अहिले आएर भारत सरकारको चौतर्फी विरोध शुरु भएकोमा चिन्ता व्यक्त गरेका थिए ।
‘मधेस आन्दोलनको विषयमा भारतभित्रै पनि सरकारको आलोचना शुरु भएको छ । अब तपाईंहरु भारत गएर त्यहाँका नेता, बुद्धिजिवी तथा शीर्ष नेतृत्वलाई मधेस आन्दोलनबारे बुझाउनुहोस्,’ रेको भनाई उद्धृत गर्दै दूतावास स्रोतले भन्यो । मोर्चाका शीर्ष चार नेता आइतबार नयाँ दिल्ली जाने तय भइसकेको छ ।
आजको भेटमा रेले सरकारसँग सम्झौता गर्दा मधेसी जनताको उपलब्धिलाई ख्याल राख्न पनि मधेसी मोर्चाका नेताहरुलाई सुझाव दिएका छन् ।
साँझसम्म मोर्चाका नेताहरु दूतावासमा नै अड्किएपछि सत्तारुढ दल र प्रतिपक्षी दलहरुसँग मोर्चाको वार्ता हुन सकेन ।
यता, शीर्ष दलहरुले भने मधेसको माग सम्बोधनका लागि तीन बुँदे प्रस्ताव पेस गरेका छन् । सरकारले प्रस्तुत विकल्पप्रति भारत पनि सकारात्मक रहेको बताइएको छ । मोर्चाका नेताहरु भारत पुगेर आएपछि मात्र यस विषयमा ठोस सहमति हुने अड्कल काटिएको छ ।

Post a Comment

 
Top