काठमाडौँ, २४ मंसिर - बिहिबार बिहानदेखि पूर्वको जोगबनी र पश्चिमको नेपालगञ्ज रुपडिया नाकामा सवारी आवात जावात सहज बनेको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन कम हुँदै गएपछि विराटनगर भन्सारबाट जाँचपास सहज हुन थालेको छ। सीमास्थित नेपाल प्रहरीका अनुसार जोगबनी नाका पहिलेभन्दा धेरै सजिलो हुन थालेको हो।

भारतले लगाएको अघोषित नाकाबन्दी पनि जोगबनी नाकामा हटेजस्तो महसुस गरिएको अधिकारीहरू बताउँछन्। सीमा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विकास खत्रीका अनुसार बुधबार र बिहीबार विहान ठूलो परिमाणमा पेट्रोलियम पदार्थ र ग्यास भित्रिएको छ।

खत्रीका अनुसार १५ बुलेट ग्यास, ४३ ट्याङ्कर डिजेल र ११ ट्याङ्कर पेट्रोल भित्रिएको हो। तीन चार दिनयता थोरै आइरहेको ग्यास र पेट्रोलियम पदार्थ बिहीबार बिहान धेरै भित्रिएपछि बजारमा भइरहेको असहजतामा राहत मिल्ने अपेक्षा गरिएको छ।

ुआज विहान ९ बजेसम्ममा यतिको परिमाणमा ग्यास आइपुगेको हो, खत्रीले सेतोपाटीसँग भने, यो निकै ठूलो परिमाणको ग्यास हो। बुधबार साँझसम्ममा तीन वटा बुलेट, ३१ डिजेल र ८ पेट्रोल भित्रिएको थियो। बिहीबार एकैचोटीमा १४ बुलेट ग्यास, १२ डिजेल र ३ वटा पेट्रोलका ट्याङ्कर भित्रिएको हो।

विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार यहाँको अबरोध सामान्य हुन थालेको छ। दैनिक दुई सयभन्दा बढी अन्य मालबाहक सामग्री बोकेका सवारीसाधन भित्रिरहेका छन्। हामीले चाहेभन्दा बढी सामान आइरहेको छ, उनले भने, पेट्रोलियम र ग्यास अलि कम आउँथ्यो त्यो पनि अहिले सजिलो भएको छ।

प्रहरी नायब निरीक्षक खत्रीका अनुसार भारतीय भन्सारले पहिले पेट्रोलियम र ग्यासमा धेरै समय लगाएर अल्मल्याउने गर्थ्यो। अहिले दुबैलाई बेर नलगाइकन जाँचपास गरिदिने गरेको छ। पारिबाट जाँचपासमा पहिले हुनेगरेको ढिलाइ अहिले हटेको छ, खत्रीले भने, अहिले सामान आयपुग्नेवित्तिकै जाँचपास हुने गरेको छ।

खत्रीका अनुसार बुधबार र बिहीबार भित्रिएको ग्यासमध्ये कोसी ग्यास उद्योगका सबैभन्दा बढी बुलेट छन्। जसअनुसार कोसीका ४, सुविधा ४, प्रिमा १, कनकाई २ र रिजाल ग्यासका २ छन्। उनका अनुसार मंगलबार दुई बुलेट ग्यास भित्रिएको थियो। ती बुलेट कोसी ग्यासका थिए। मंगलबार ११ डिजेल, ३ पेट्रोल भित्रिएका थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जोगबनीमा नाकाबन्दीको प्रभाव नदेखिएको बताएका छन् नाकाबन्दीको प्रभाव यहाँ देखिँदैन, उनले भने। उता पश्चिम नेपालको  नेपालगन्जको रुपैडिया नाका आज बिहिबार बिहानदेखि केही खुकुलो भएको छ। आज बिहान ११ बजेसम्म पेट्रोलियम पदार्थ बोकेका २७ वटा ट्यांकर नेपाल  भित्रिएका छन्। नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र माल बाहक ट्रकहरु भित्रने क्रम जारी छ।

Post a Comment

 
Top